दफा १५१
सजायको लगत खडा गर्नु पर्ने
(१) अदालतबाट कुनै मुद्दाको फैसला भए पछि सम्बन्धित अदालतले त्यस्तो फैसला बमोजिम लागेको दण्ड, जरिबाना वा ठहरेको विगो वा क्षतिपूर्तिको लगत तयार गर्नु पर्नेछ ।
(२) पुनरावदेन सुन्ने अदालतबाट कुनै ब्यक्ति कसूरदार ठहरी वा तल्लो अदालतको फैसला उल्टी भई वा बदर भई कसूरदार ठहरेकोमा त्यसको लगत खडा गरी कार्यान्वयन गर्न सम्बन्धित जिल्ला अदालतमा फैसलाको प्रतिलिपि पठाउनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम लगत खडा गरेपछि सम्बन्धित अदालतले फैसला कार्यान्वयन गर्नेछ र फैसला कार्यान्वयनको लागि कुनै काम कुनै निकायले गर्नु पर्ने रहेछ भने सम्बन्धित निकायलाई त्यस्तो काम गर्न आदेश गर्नेछ ।
(४) उपदफा (३) बमोजिम आदेश गर्दा कैद सजाय पाउने ब्यक्ति अदालतमा उपस्थित रहेको भए निजलाई अदालतले कारागारमा चलान गरी पठाउनु पर्नेछ र उपस्थित भएको रहेनछ वा थुना वा कैदमा पनि बसेको रहेनछ भने निजलाई पक्राउ गरी कारागारमा बुझाउने गरी सम्बन्धित प्रहरी कार्यालयलाई अनुसूची–४९ बमोजिमको ढाँचामा आदेश पठाउनु पर्नेछ ।
(५) फैसला कार्यान्वयन सम्बन्धमा कुनै द्विविधा भएमा कारागार कार्यालयले सम्बन्धित जिल्ला अदालतमा लेखी पठाउनु पर्नेछ र जिल्ला अदालतबाट निकासा भए बमोजिम गर्नु पर्नेछ ।